काठमाडौं,२९ फागुन । नेकपा(मसाल) सम्बद्ध अखिल (छैठौं) ले राज्यको सुरक्षा संयन्त्रको कमजोरीका कारण इनिसाजस्ता प्रकरण अगाडि आएको धारणा व्यक्त गरेको छ । सो संगठनका अध्यक्ष सुवास जिसीले जारी गर्नुभएको एक बक्तब्यमा उपरोक्त कुरा उल्लेख छ । उहाँले बक्तब्यमा भन्नुभएको छ– सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसा विकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको आपराधिक घटनालाई हाम्रो संगठनले घोर भत्र्सना गर्दछ ।
हामीले घटनाको उच्चस्तरीय छानबिन समिति गठनगरी निष्पक्ष अनुसन्धानगर्न र अपराधीलाई यथाशीघ्र पक्राउगरी कडा कानूनी कारवाहीगर्न सरकारसमक्ष जोडदार माग गर्दछौँ । आधुनिक भनिएको समाजमा घट्ने यस प्रकारका अपराधले सिंगो समाजको चेतनामाथि गम्भीर प्रश्न उठाइरहेको हुन्छ । विगतका यस्तै प्रकृतिका घटनामा राज्यको सुरक्षा र प्रशासन संयन्त्रको कमजोर अनुसन्धान पद्धति र अपराधीलाई कडा कानूनी सजायको व्यवस्था नगर्नुको परिणाम यस्ता अपराध न्यूनीकरण भइरहेका छैनन् ।
त्यस्तै युवा तथा विद्यार्थीमा पनि उचित नैतिक चरित्रको विकासगर्न राज्यको पर्याप्त ध्यान जानसकेको छैन । हामीले सरकारसमक्ष यस्ता गम्भीर विषयमा जिम्मेवार बन्न ध्यान आकर्षित गर्दछौँ । बक्तब्यको अन्तमा हामीले मृतक इनिसाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ भनिएको छ ।