
काठमाडौं,२९ फागुन । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक बक्तब्यमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनकाक्रममा सँगै जेल जीवन बिताएका ४० वर्ष पुरानो साथी गुमाउँदा आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शोक व्यक्तगर्दै ओलीले थापालाई एक असल कमरेडकारुपमा स्मरण गर्नुभएको छ । उहाँले पोखराका पूर्व मेयर कृष्ण थापाको निधनको दुःखद् खबर सुनेँ। उहाँ हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्यमात्रै होइन, ०३९ सालदेखिको साथी हुनुहुन्थ्यो भन्नुभएको छ ।
निरंकुश राजनीतिक व्यवस्थाविरुद्ध जेल जीवनका क्रममा आफूलाई पोखरा कारागार सारिँदादेखि नै थापासँग मित्रता गाँसिएको उहाँको भनाई छ । थापाको निधनले पार्टीलाई अपूरणीय क्षतिपुगेको बताउँदै अध्यक्ष ओलीले उहाँको निधनबाट हामीले असल कमरेड मात्र गुमाएका छैनौं, यसले पार्टीलाई क्षति पु¥याएको छ। दिवंगत कृष्ण थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु भन्नुभएको छ । एमालेको गढ मानिने कास्कीमा प्रतिनिधि सभा सदस्य निर्वाचन–०८२ मा पार्टी कमजोर देखिएपछि हिजो बिहीबार जिल्ला कमिटीको समीक्षा बैठक राखिएको थियो। सोही बैठक चलिरहेकै बेला हृदयघात भएर थापाको निधन भएको थियो ।
पार्टीको कास्की जिल्ला संयोजनगर्ने जिम्मेवारीमा रहनुभएका उहाँ बैठकमा आफ्नो भनाइ राखेर बसिरहेको अवस्थामा उक्त घटना भएको थियो । बैठकको अन्त्यतिर एक्कासि असहज महसुस गरेका उहाँ कुर्सीमा बसेकै बेला बेहोस हुनुभएको थियो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीकाअनुसार बेहोस भएलगत्तै उहाँलाई कारमा राखेर मनिपाल शिक्षण अस्पताल पु¥याइएको थियो । अस्पताल लगेर जाँच गर्दा रिपोर्ट नकारात्मक आयो र चिकित्सकले धेरै प्रयासगर्दा पनि बचाउन सकिएन भनेका थिए । थापालाई लो ब्लड प्रेसरको समस्या रहेको बताइन्छ ।