
काठमाडौं,२७ फागुन । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ । सर्वोच्च अदालतले हिजो अन्तराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताउनुभएको हो । उहाँले कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुनसक्दैन, न्याय सम्पादन डराएर धम्काएर हुन सक्दैन । सुशासन वास्तवमा न्यायालयको आत्मा हो, संवैधानिक लोकतन्त्रको अभ्यासगर्ने निकाय हो, संविधानले सरकारको सीमाहरुको पनि निर्धारण गर्छ, सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ भन्नुभएको थियो । वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेखगर्दै कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन भन्नुभएको थियो । उहाँले महिला अघि बढेमात्रै राष्ट्र अघिबढ्ने उल्लेखगर्दै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा खाडल अझै भएको र अझै पनि महिलाले अन्यायको फरक महसुुस भएको हुनाले महिला दिवस मनाउनपर्ने आवश्यकता भएको बताउनुभयो ।
वरिष्ठतम् न्यायाधीश मल्लले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता जरुरीभएको विगतको तुलनामा समाज बदलिएको उल्लेखगर्दै महिलाहरुले अझै धेरै गर्नसक्ने धारणा राख्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले अहिले पनि पाइला,पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वासगर्दै परिणामुखी तरिकाले काम गर्नुपर्र्र्नेमा जोडदिनुभएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशीताको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल बार एशोसिएनका उपाध्यक्ष सरस्वती श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता अझै धेरै आवश्यता भएको र महिलाले गर्न सक्छनभन्ने धेरै पुष्टि हुँदैआएको धारणा राख्नुभएको थियो । रासस