काठमाडौं,२७ फागुन । नेपाली कम्युनिष्ट पार्टीमा पार्टी पुनरगठनको दबाव बढेको छभने संयोजक पुष्पकमल दाहालले नेतृत्व छाड्नुपर्ने अवस्था सिर्जना भएको छ । २६ वटा समूह मिलेर बनेको भनिएको सो पार्टीले गत प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक हार ब्यहोर्नु परेपछि पार्टी पुनरगठनको आवाज उठेको हो । सो पार्टीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पछिल्ला बिभिन्न कार्यक्रममा बोल्दै पार्टी पुनरगठन र नेतृत्व परिवर्तनको मागलाई तीब्र बनाउनुभएको छ । अर्कातिर सो पार्टीका संयोजक दाहालभने रास्वपासँग कार्यगत एकताको पहलमा रहनुभएको बताइन्छ । हालैको निर्वाचनको मत परिणामले सो पार्टीको पूर्बको राजनीति चकनाचुर भएको देखाएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका बिभिन्न पार्टीलाई समेटेर बनाइएको नेपाली कम्युनिष्ट पार्टीलाई हर्क साम्पाङको नयाँ दल श्रम संस्कृति पार्टीले आफ्नो आधार थलो कोशी प्रदेशमा पछिपारिदिएको छ । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा हेर्ने हो भने कोशी प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीभन्दा श्रम संस्कृति पार्टी सफल देखिएको छ । श्रम संस्कृति पार्टीले कोशी प्रदेश अन्तर्गतका प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ तीन सिटमा जित हाशिल गर्दा नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि सिट जित्न सकेन । श्रम संस्कृति पार्टीले सुनसरी–१, भोजपुर र खोटाङ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हाशिल गरेको छ । त्यसैगरी समानुपातिकतर्फ पनि नेपाली कम्युनिष्ट पार्टीलाई श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा उछिनेको छ । कोशी प्रदेश अन्तर्गतका सबै निर्वाचन क्षेत्रमागरी श्रम संस्कृति पार्टी २ लाख ७९ हजार ६९९ मतसहित समानुपातिकतर्फ चौथो दल बनेको छ । जबकि, श्रम संस्कृति पार्टीकोभन्दा झन्डै एक तिहाइ मत पाएर नेपाली कम्युनिष्ट पार्टी पाँचौँ नम्बरमा सीमित भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशबाट समानुपातिकमा जम्मा ९४ हजार ३२० मत पाएको छ । श्रम संस्कृति पार्टी पाँचथर, इलाम, भोजपुर र खोटाङमा समानुपातिक मतका आधारमा पहिलो दल बनेको छ । नेपाली कम्युनिष्ट पार्टी भने कोशीका कुनै पनि जिल्लामा पहिलो, दोस्रो वा तेस्रो स्थानमासमेत पर्न असफल भएको छ । सो पार्टीको अवस्था काठमाडौंमासमेत न्युन देखिएको छ । पुष्पकमल दाहालहरुले यसअघि पूर्बमा जातीय राजनीतिगर्न खोजेकै कारण पछाडि परेको बताइन्छ ।