काठमाडौं,२८ फागुन । चालु आर्थिक वर्ष ०८२÷८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धिभई १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आव ०८२÷८३ को सात महिना (२०८२ माघसम्म) को तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो ।

गत माघ महिनामामा मात्र एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो । गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धिभई आठ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो । त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुईलाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ । रासस