काठमाडौं,१ चैत । आयोगको प्रतिवेदन तत्काल सार्वजनिकगर्न मागगर्दै प्रदर्शन हुनथालेका छन् । आयोगले तत्कालीन सरकारमा रहेकाहरुलाई दोषि करारगर्ने प्रयास गरेको छभने तत्कालीन सरकारमा रहेकाहरुले भदौ २३ र २४ गते बिध्वंश मच्चाउनेहरुमाथि कारवाहीको मागगर्दै आएका छन् । अब उक्त प्रतिवेदनका कारण सडकमा दोहोरो झडप हुनसक्ने संकेतहरु देखिन थालेका छन् । यसैक्रममा जेनजी मुभमेन्ट नेपालले भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिनगर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिकगर्न सरकारसँग माग गरेको छ ।
सो संस्थाले एक प्रेस वक्तव्य जारीगर्दै उक्त आन्दोलनका क्रममा भएका हत्या, आगजनी तथा हिंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ । वक्तव्यमा उपरोक्त घटनाबारे निष्पक्ष छानबिनगरी दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ। प्रतिवेदन सार्वजनिक नगरी सत्य लुकाउने वा दोषीलाई संरक्षणगर्ने प्रयास भएमा त्यसले जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध जाने चेतावनी पनि संस्थाले दिएको छ । संस्थाकाअनुसार आन्दोलनको मूल माग नै पारदर्शिता र उत्तरदायित्व भएकाले त्यससम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नहुनु पूर्णरुपमा अस्वीकार्य हुनेछ ।
प्रेस वक्तव्यमा ती दिन भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा नल्याएसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन सक्दैन भनिएको छ । त्यस्तै, आयोगको प्रतिवेदन सार्वजनिक भएपछिमात्रै नयाँ सरकार गठनको प्रक्रियाअघि बढाइनुपर्ने स्पष्ट धारणा पनि संस्थाले सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिकगर्न दबाब दिने उद्देश्यले आज चैत १ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनगर्ने पनि मुभमेन्टले घोषणा गरेको छ । संस्थाका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा लोकतान्त्रिक मूल्य, पारदर्शिता र जवाफदेहिताको पक्षमा सबै नागरिकलाई एकजुट हुन आग्रह पनि गरिएको छ ।