काठमाडौं, २ चैत । दलहरुले पेश गरेको समानुपातिक सूचीमा आजबाट छानविन थालिने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेश गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघिबढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्तगर्ने रास्वपाले क्लष्टरअनुसार ५७ सांसदको सूची पेश गरेको छ । त्यसैगरी कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार चार उम्मेदवारको सूची क्लष्टर मिलाएर हिजो पेश गरेका थिए । क्लष्टरअनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभएको छ । दलहरुले क्लष्टरअनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभए आज सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने प्रवक्ता जिसीले बताउनुभएको छ । दलहरुले क्लष्टरअनुसार बुझाएको सूचीमा केही त्रुटिभई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने बताइन्छ ।