काठमाडौं, २ चैत । नयाँ सरकार बन्न अझै १० दिन लाग्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रि बनाउने भनिएका बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक रुपमा सदस्यता पनि नलिएको र सो पार्टीको विधानअनुसार साहलाई संसदीय दलको नेता बनाउन बाधा भएकाले बिलम्ब हुनेभएको हो । गत फागुन २१ को चुनावी परिणामपछि पनि बालेन्द्रलाई संसदीय दलको नेता बनाउन रास्वपामा प्रक्रियागत ढिलाइ भएपछि रास्वपा पूर्वसमझदारीबाट पछाडि फर्किने संभावना बढेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । बालेन्द्रलाई संसदीय दलको नेता बनाउने विषयमा आन्तरिक र अनौपचारिक छलफल चलिरहेको बताइन्छ । संसदीय दलको नेता बनाउनका लागि विधान संशोधन गर्नुपर्ने हुन्छ ।

यसको लागि केन्द्रीय समितिको बैठक कुर्नुपर्छ । दलको नेता बनाउन प्रक्रियागत ढंगले अगाडि बढाउनुपर्ने र केही नेताको उपस्थिति हुन नसकेको अवस्था पनि छ । स्वास्थ्य अवस्थाको कारण जनाउँदै रास्वपाका सभापति रवि लामिछाने आफै बैठकहरुमा उपस्थित भैरहनुभएको छैन । बालेनलाई रास्वपामा भित्र्याउने समझदारीमा उहाँलाई संसदीय दलको नेता बनाउने र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको भनिएको थियो । प्रतिनिधिसभा चुनावमा रास्वपाले झण्डै दुईतिहाइ बहुमत पाए पनि संसदीय दलको नेतानै प्रधानमन्त्री बन्ने भएकाले रास्वपाले विधान संशोधन गर्नुपर्ने भएको छ । सबै प्रक्रियाको लागि अझै १० दिनजति समय लाग्ने रास्वपाका नेताहरुको भनाइ छ ।

गत पुस १३ गते भएको सात बुँदे सहमझदारीमा सभापति लामिछाने र बालेनले हस्ताक्षर गर्नुभएको थियो । जसको बुँदानम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने भनिएको थियो । सहमतिपछि जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधनगर्दै लामिछानेले आफू पछिहटेर भए पनि बालेनलाई देशको नेतृत्व सुम्पन तयार रहेको बताउनुभएको थियो ।