काठमाडौं, ३ चैत । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानूनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट २०, एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार,चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए ।