
काठमाडौं, ४ चैत । समानुपातिकतर्फका सांसदलाई भोली प्रमाणपत्र दिइो भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले कानूनमा तोकिएको क्लष्टर अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नेगरी तयारी शुरु भएको जानकारी दिनुभयो ।
आयोगले गत सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार÷चार जना सांसद निर्वाचित भएका छन् ।
भोली बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन–०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताउनुभउको छ । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान–०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।