काठमाडौं,१० चैत । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुईलाख रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गरेको थाहा भएको छ । अदालतमा हिजो उपस्थित हुनुभएका आचार्यविरुद्ध न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएकोमा इजलासले तोकेको धरौटी रकम नगद बुझाएपछि आचार्य तारेखमा रिहा हुनुभएको थियो । अब उहाँले मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्नुहुने भएको छ । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्व पर्यटनमन्त्रीसहित ५५ जनाविरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो दाबीगर्दै मुद्दा दायर गरेको छ ।
मुद्दामा १० पूर्वसचिवसमेत प्रतिवादी छन् । अख्तियारकाअनुसार आचार्यले चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग विमानस्थल निर्माणका लागि २१ करोड ५९ लाख अमेरिकी डलरको सम्झौता गर्न ०७१ जेठ ८ मा अन्तिम स्वीकृति दिनुभएको थियो । त्यसपछि ०७१ असार ३ मा चाइना एक्जिम बैंकबाट सहुलियत ऋण लिन प्रक्रिया अगाडि बढाउने निर्णय पनि उहाँले मन्त्रीकारुपमा गर्नुभएको थियो । अनुसन्धानले प्रारम्भिक लागत अनुमान १६ करोड ९६ लाख डलरबाट बढेर अस्वाभाविकरुपमा २४ करोड ४० लाख डलर पुगेको दाबीगरेको छ, जसलाई भ्रष्टाचारको आधार बनाइएको छ । सो मुद्दामा पूर्वमन्त्रीहरु स्व.पोष्टबहादुर बोगटी, डा.रामशरण महत, दीपक अमात्य र रामकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।