काठमाडौं,११ चैत । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा आफ्नो खुशी र गर्व व्यक्त गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्यपार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्नगर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले निर्वाचन आयोग र सुरक्षाकर्मीहरुको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिकारुपमा यसलाई चित्रित गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपरेको थियो। त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्नगर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो भन्नुभयो ।
उहाँले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्नागर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ पार्ने नयाँ अध्यायको ढोका खोलेको पनि उल्लेख गर्नुभयो । उहाँले आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन् भन्नुभयो । प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भएतापनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा लगाएको बताउनु भयो । उहाँले विशेषगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफल बनाएको बताउनु भयो । प्रधानमन्त्रीले मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोगयोग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरुलाई ऐतिहासिक मानककारुपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्तगर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरु प्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईदिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । प्रधानमन्त्री कार्कीले सबैको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपालको निर्माणमा निरन्तर प्रयास रहने विश्वास व्यक्त गर्नुभयो ।