काठमाडौं,१२ चैत । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारीगरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठीनाइ भएकोभन्दै भाडा समायोजनगर्न माग गर्नुभएको हो । गत चैत २ गते डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा प्रतिलिटर १५ बढेपछि महासंघले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजनगर्न माग गरेको थियो ।
यातायात व्यवस्था विभागले ०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गर ेपनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरु मर्कामा परेको महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताउनुभएको छ । महासंघले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालनगर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ ।
महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजनगर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडालिइ सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्नेसमेत बताउनुभएको छ ।