काठमाडौं,१३ चैत । रास्वपाका सभापति रवि लामिछाने बिरुद्धको रिट हेरेको हेरै भएको छ । लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनगरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा फेरी आगामी आइतबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा हिजो बिहीबार सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तयभएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ शुरु भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गत पाँचगते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेशगर्न आदेश दिएको थियो । त्यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न गत एकगतेका लागि पेशगर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्तागर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।