काठमाडौं,१३ चैत । नेपाल पत्रकार महासंघले गत भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझगर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद पाण्डेयले प्रेस विज्ञप्ति जारीगर्दै पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्म विपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको बताउनु भएको हो ।
उहाँले पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादकभई काम गरेको हुनुपर्नेजस्ता हास्यास्पद सुझाव दिने चेष्टागर्नु लोकतन्त्रले प्रत्याभूतगर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्मविपरीत भएको बताउनुभएको छ । महासंघले विज्ञप्तिमा आयोगले संविधान र विद्यमान कानूनी प्रावधानविपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासंघ असहमति प्रकट गर्दछ भनेको छ । प्रतिशोधको भावनाबाट प्रेरित प्रतिवेदनले भोलिको राज्य संयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको महासंघको बुझाइ छ । बिज्ञप्तिमा समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित यो प्रतिवेदनले भोलिको राज्यसंयन्त्रलाई निर्देशितगर्न खोजेको झल्को दिएको छ । नेपाली पत्रकारहरु लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन्भन्ने विषयमा राज्यका सबै निकायलाई महासंघ सचेत गराउँदछ भनिएको छ ।
