काठमाडौं,१७ चैत । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्विप अप्रेसन प्रहरी टोलीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट हिजो उनीहरुलाई पक्राउ गरेको हो ।
ललितपुर प्रहरीले एक सूचना जारीगरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जनागर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ ।