काठमाडौं,१७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री तिमिल्सिनाले हिजो हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र विज्ञापन बोर्डको स्थलगत अवलोकनसहित ब्रिफिङलिँदै जनताले अनुभूत गर्नेगरी एक साताभित्र तत्काल सुधार गर्नुपर्ने काम र दीर्घकालीन महत्वका कार्ययोजना पेशगर्न ती निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको हो ।
परिवर्तनको चाहनाअनुरुप देश नयाँ ढंगले अगाडि बढिरहेको सन्दर्भमा जनताको आशा र अपेक्षालाई सम्बोधन हुनेगरी कार्यशैली सुधारेर सेवा प्रवाह चुस्त र प्रभावकारी बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देशले खोजेको गति अर्कै छ, नयाँ गतिमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । सरकार सबैको हो, त्यसैले सबै मिलेर जनताको आशा अनुरुप काम गरौँ, नयाँ शोच र भावनाका साथ सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्छ भन्नुभयो । मन्त्री तिमिल्सिनाले विभिन्न बहानामा काममा ढिलासुस्तीगर्ने, स्रोतको अभाव देखाएर पन्छिनेजस्ता परिपाटीको अन्त्यगरी नयाँ जोस र उत्साहकासाथ कामगर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।तीनवटै निकायका प्रमुखले सरकारको सयबँुदे मार्गचित्रअनुरुप कामको गति नयाँ ढङ्गले बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । रासस