काठमाडौं, २९ चैत । इरान र अमेरिकाबीचको इस्लामावाद वार्ता बिफल, फेरी युद्धको संकेत देखिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता नगरी स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इस्लामावाद छाड्नुअघि उहाँले होटल सेरेनामै पत्रकारहरुलाई संक्षिप्त ब्रिफिङगर्दै वार्तामा कुनै सम्झौता नभएको बताउनुभएको थियो । उहाँले इरानीहरु अमेरिकी प्रस्ताव स्वीकारगर्न तयार नभएको पनि बताउनु भएको थियो । यद्यपि कुन–कुन प्रस्ताव स्वीकारगर्न इरान तयार नभएको होभन्ने चाहिँ उहाँले खुलाउनुभएन । यसैबीच संयुक्त राष्ट्र संघका प्रमुखहरुले मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लंघनको लागि दण्डहीनताको अन्त्यगर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले शुरुगरेको युद्धमा हताहतीको संख्या बढ्दैगएको छ । संयुक्त राष्टसंघका विभिन्न निकायका प्रमुखले संयुक्त विज्ञप्ति जारीगर्दै उक्त क्षेत्रमा ‘युद्धका नियम र अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लंघनबाट आत्तिएको’ बताउनुभएको हो । संयुक्त राष्ट्रसंघको अन्तर–निकाय स्थायी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ–युद्धका पनि नियम हुन्छन् र यी नियमको सम्मान गर्नुपर्छ ।

संयुक्त राष्टसंघका मानवीय सहायता प्रमुख टम फ्लेचर र संयुक्त राष्ट्रसंघीय मानवअधिकार, स्वास्थ्य, खाद्य, शरणार्थी र बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरुले लेखेको संयुक्त वक्तव्यमा फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध शुरु भएयता बढ्दो हताहती संख्याको निन्दा गरिएको छ । वक्तव्यमा मध्य पूर्वमा गत महिना मात्र हजारौं नागरिक मारिएका छन् र घाइते भएका छन्। लाखौँ धेरै पटक विस्थापित भएका छन् । संख्या बढ्दै गएको छ र आवश्यक सेवाहरुमा पहुँचका लागि झन् गाह्रो भइरहेको छ भनिएको छ । वक्तव्यमा युद्धकाक्रममा स्वास्थ्यकर्मी, अस्पताल र एम्बुलेन्सलाई निशाना बनाइएको छ । बिद्यालयहरु प्रभावित भएका छन्। पुल, आवासीय भवन, घर, खानेपानी सुविधा र पावर प्लान्टलगायत नागरिक पूर्वाधारहरु ध्वस्त भएका छन् भनिएको छ । उनीहरुले खाद्यान्न र इन्धनको मूल्य बढेसँगै महिला र बालबालिका तथा अन्य विशिष्ट आवश्यकता भएका व्यक्तिहरुका साथै विश्वव्यापी आपूर्ति श्रृंखलामा पर्ने प्रभावबारे विशेष चिन्ता व्यक्त गरेका छन् । यसैबिच, उनीहरुले आफ्ना मानवीय सहकर्मीहरु युद्धमा फसेका बताएका छन् ।

वक्तव्यमा भनिएको छ–यस वर्षको शुरुदेखि नै प्यालेष्टाइन क्षेत्रमा १४, इरानमा आठ र लेबनानमा पाँच सहायताकर्मीहरु मारिएका छन् वा घाइते भएका छन्। यो सहायताकर्मीको हताहतीको एक खतरनाक संख्या हो । एजेन्सीका प्रमुखहरुले भनेका छन्–हामी मानवीय र स्वास्थ्यकर्मीहरु र नागरिक वस्तुहरु सहित नागरिकहरुमाथि हुने सबै आक्रमणको कडानिन्दा गर्दछौँ। उनीहरुले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु हुन् वा सशस्त्र समूहहरु सबै पक्षले मानवीय कर्मचारीहरु र नागरिक पूर्वाधारहरु सहित नागरिकहरुको सुरक्षागर्ने उनीहरुको कानूनी दायित्वको सम्मान गर्नुपर्छ । सबै उल्लंघनहरु जवाफदेहीताका साथ पूरा गरिनु पर्छ भनेका छन् ।