काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डमा नियुक्तिका विषयमा बिमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत दीपेन्द्र दाहालले दुवैजनालाई बोर्ड सदस्य नियुक्तिका विषयमा तीन दिनभित्र लिखित जवाफ पेसगर्न निर्देशन दिइएको बताउनुभएको छ ।
पत्रमा स्वास्थ्य बिमा बोर्डका सदस्य नियुक्ति तथा सदस्यको बैठकमा उपस्थितिलगायत विषयमा सञ्चार माध्यममा आएको विषय, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीकै भूमिका रहेको भनी उल्लेख भएको सम्बन्धमा संलग्नता रहे–नरहेको, यदि रहेको भए त्यसको कारण र प्रक्रिया के थियो भन्नेबारे स्पष्ट विवरण पेस गर्नू भनिएको छ । पौडेल र सापकोटालाई छट्टाछुट्टै पत्रमार्फत स्पष्टपार्न भनिएको छ । केही दिनअघि बोर्ड बैठकमा सदस्यबाट हटाइएकी जुनु श्रेष्ठलाई सहभागी गराइएको थियो । सोही विषयमा सार्वजनिक आलोचना भएपछि श्रम तथा रोजगारमन्त्रीले पदबाट राजीनामा दिनु परेको थियो । रासस