काठमाडौं,३० चैत । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाटै हुनेभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्रलाई भ्रमणको निम्तो दिइसक्नुभएको बताइन्छ । नेपालको सरकारले आन्तरिक तयारी थालेको छ । परराष्ट्रमन्त्री शिशिर खनालकाअनुसार भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसक्नु भएको छ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुग्नुभएका परराष्ट्रमन्त्री खनालले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदानै नेपालका प्रधानमन्त्रिलाई भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको खुलाशा गर्नुभएको हो ।
गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरेर बधाई दिनुभएको थियो । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको परराष्ट्रमन्त्री खनालले बताउनुभएको छ । भारत भ्रमणको निश्चित मिति भने तय भइसकेको छैन । मौरिससमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस.जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गर्नुभएको थियो । नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरु तय गरिरहेकोभन्दै खनालले भारतीय पक्षलाई जानकारी गराएका बताउनुभएको थियो । नेपाल र भारतबीच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरु सक्रिय रहेको बताउँदै खनालले ती संयन्त्रहरुमार्फत अघिबढ्ने पनि बताउनुभएको छ ।
प्रधानमन्त्रीस्तरको भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने बताइन्छ । भारतीय विदेशमन्त्रीसँग नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारेमा जानकारी गराएको उल्लेख गर्दै मन्त्री खनालले नेपाल भारतबीच अत्यन्तै गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ । त्यसबारे हामीले अध्ययन गरिरहेका छौँ । त्यसक्रममा नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरु निर्धारण गर्नेछ । त्यो सकेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गरौँ । सँगसँगै उच्चस्तरीय भ्रमणको तयारी पनि गरौँ भन्ने कुरा मैले राखेँ भन्नुभएको छ ।