काठमाडौं,१ बैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले नवौँ हिन्द महासागर सम्मेलनले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनु भएको छ । मौरिससको पोर्ट लुइसमा गत चैत २८ देखि आयोजित उक्त सम्मेलनमा भाग लिई हिजो स्वदेश फर्कनेक्रममा उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताउनुभएको हो । मन्त्री खनालले सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्य र साझा प्रयासको आवश्यकतामाथि जोड दिएको बताउनुभएको थियो ।

उहाँले भूपरिवेष्टित मुलुकका रुपमा नेपालका विशिष्ट सरोकारका विषयलाई अन्तरराष्ट्रिय समुदायसमक्ष स्पष्टरुपमा प्रस्तुतगर्दै समुद्री पहँुच र सम्बन्ध विस्तारमा क्षेत्रीय सहकार्य र साझेदारी विकासका विषयलाई प्राथमिकताका साथ राख्नुपर्ने विषय औँल्याएको बताउनुभएको थियो । भ्रमणका अवसरमा मन्त्री खनालले मित्रराष्ट्रहरु भारत, भुटान, बङ्गलादेश, सिंगापुर, मौरिसस र तान्जानियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभउको थियो । यसअघि सम्मेलनमा सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसंघीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेकाले यसप्रति प्रतिबद्ध भएको उल्लेखगर्दै भूपरिवेष्टित राष्ट्रहरुलाई उच्च समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताउनुभएको थियो ।