काठमाडौं,१२ वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुनेभएको छ । महासंघका महासचिव डेकनाथ गौतमले एक सूचना जारीगरी सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ गतेदेखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा हुन लागेको जानकारी दिनुभयो । महासंघले महाधिवेशन तयारीका लागि जिल्ला, प्रदेश तथा सदस्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
जिल्ला अधिवेशन बाँकी रहेका जिल्लाहरुले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको महासचिव गौतमले बताउनुभयो । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगराइने महासंघले जनाएको छ । महासंघले वैशाख १५ गतेभित्र प्रदेश संयोजकले प्रतिनिधिहरुको नामावली, फोटो तथा आवश्यक शुल्कसहितको विवरण अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
लेवी तथा अन्य दायित्व बाँकी रहेका सदस्य संस्थालाई महाधिवेशनमा सहभागी नगराइने महासंघले जनाएको छ । सैबीच, महासंघले महाधिवेशन तथा निर्वाचन प्रक्रिया विधानअनुसार प्रविधिमैत्री (बिद्युतीय मतदान) प्रणालीमार्फत एकैदिन एउटै स्थानबाट प्रदेशअनुसार सञ्चालन गरिने जनाएको छ । रासस