
काठमाडौं,१२ वैशाख । पश्चिम एशियाको द्वन्दले नेपाली स्वदेश फर्किनेक्रम जारी रहेको थाहा भएको छ । पश्चिम एशियामा उत्पन्न द्वन्दपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलनमार्फत जनाएको छ । मन्त्रालयका अनुसार ती नागरिकहरु तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्कनुभएको हो । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्येएशिया, पश्चिमएशिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।
यसैगरी उक्त द्वन्दपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाकाबारेमा दर्ता गराउनुभएको उहाँले बताउनुभएको थियो । द्वन्दकाक्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउपरेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिनुभएको थियो । उहाँ छिट्टै रिहाइ हुनुहुने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुईजना स्वदेश फर्कने तयारीमा रहनुभएको बताउँदै बाँकी आठजना हाल सुरक्षित महसुुसगरी इरानमा रहनुभएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभएको थियो । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।