
काठमाडौं,१२ वैशाख । आह्वान गरिसकेको संसदको बर्षे अधिवेशन स्थगित गर्नु केटाकेटी काम भएको भन्दै सरकारभित्रै बिवाद भएको थाहा भएको छ । मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरु हिजो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । जसमा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संसदको बैठक स्थगित गर्नुपर्नाको कारणबारे स्पष्टगर्ने प्रयास गर्नुभएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति प्रदानगर्ने निर्णय गरेको छ । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलाई परराष्ट्रमा हाजिर हुन आउनेगरी फिर्ताबोलाउने निर्णय गरेको छ ।
बैठकले नेपाली सेनाका तीन जना सहायक रथीलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवागर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभएको थियो । उहाँकाअनुसार मन्त्रिपरिषद्को निजामतीअन्तर्गत विभिन्न सेवाका २५ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीको सरुवागर्ने निर्णय गरिएको छ । बैठकले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि–०८३ स्वीकृत गरेको छ । सरकारी सार्वजनिक गुठी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन–०७६ (मोहनरम भट्टराई) कार्यान्वयनगर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभएको थियो । मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन–०४२ लाई संशोधनगर्न बनेको विधेयक संसदमा पेशगर्न स्वीकृति दिने तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–०७३ लाई संशोधनगर्न बनेको विधेयक संसदमा पेशगर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी मतदाता नामावली ऐन– ०८३ लाई संशोधनगर्न बनेको विधेयक संसदमा पेशगर्न स्वीकृति दिने निर्णय गरिएको उहाँले बताउनुभएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली स्वीकृत गरिएको छ । बैठकले नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई गाभी एकीकृत रुपमा सञ्चालनगर्न नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश) स्वीकृत गरेको छ । आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०) स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को बैठकले यही वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपतिबाट आगामी १७ गते बिहीबार दिउँसो २ः०० बजे संसद् भवन, सिंहदरबारमा बस्नेगरी आह्वान गरिएको संसद्को दुवै सदनको अधिवेशन विशेष कारणवश स्थगितगर्न राष्ट्रपतिसमक्ष सिफारिसगर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञाशामा शिक्षामन्त्री पोखरेलले सरकारले संसद्को पर्याप्त विजनेस (संसदको बैठकमा छलफल हुने कार्यसूची, प्रक्रिया र सम्पूर्ण औपचारिक कामको तयारी)का लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको बताउनु भएको थियो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको पनि बताउनुभएको थियो ।