काठमाडौं,२० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी संसदको बर्षे अधिवेशन तत्काल बोलाउन र अध्यादेशबाट देशको शासन चलाउने कार्यलाई प्रोत्साहन नगर्न माग गर्नुभएको थाहाभएको छ । शीतलनिवास पुगेर आङ्देम्बेले हिजो राष्ट्रपति पौडैलसँग भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति पौडेलसँग आङ्देम्बेले करिब एक घन्टा छलफल गर्नुभएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । छलफल समसामयिक विषयमा भएको भनिएको छ । आङ्देम्बेले सरकारले सिफारिस गरेको अध्यादेशहरुबारेमा विपक्षी दलहरुको धारणा राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत १७ गते संसदको दुवै सदनको अधिवेशन आह्वान गरेर तत्काल स्थगित गर्नुभएको थियो । त्यसपछि सरकारले बिभिन्न छवटा अध्यादेश जारीका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । संवैधानिक परिषद सम्बन्धी, सहकारी सम्बन्धी, विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठान सम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी, सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारीगर्न सिफारिस भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलेले सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धि अध्यादेश, सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरिसक्नुभएको छ । अध्यादेश जारीगर्न सिफारिस भएपछि झन्डै दुई तिहाईको सरकारले संसद छलेकोभन्दै विपक्षी दलहरुले आलोचना गर्दै आएका छन् ।