काठमाडौं,३१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सटर कवल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ बराबरको बिगो मागदावीगर्दै मुद्दा दायर गरेको हो । यस्तै, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध एक करोड चार लाख ७१ हजार ९४२ बराबरको बिगो माग दाबी गरिएको छ ।
तत्कालीन सदस्यसचिव गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११०, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको श्रीमती सीमाकुमारी चन्द क्षत्रीविरुद्ध दुई करोड ९० लाख ९६ हजार ४४१ बराबरको बिगो मागदाबी गरिएको छ । तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध दुई करोड ९४ लाख ७८ हजार ६८१ बराबरको बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ । आर्थिक वर्ष ०७६÷७७ देखि आव ०८०÷८१ सम्मको भाडा असुली गरेको रसिदबाट चार करोड १८ लाख चार हजार ३०३ बराबरको आम्दानी भएको देखिन्छ ।
सोमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्रै बैंक दाखिला भएको देखिएको आयोगको अध्ययनबाट खुलेको छ । त्यस्तै दुई करोड ९४ लाख ७८ हजार ६८१ बराबरको रकम भने बैंक दाखिला नगरी राजस्व हिनामिना गरेको पाइएको छ । सोही आधारमा आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा गैरकानूनी क्रियाकलाप भएको पाइएकाले आरोपीविरुद्ध मुद्दादायर गरिएको आयोगले जनाएको छ । रासस