काठमाडौं,३१ वैशाख । आज चीनको बेइजिङमा चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा महत्वपूर्ण वार्ता हुँदैछ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच आज बिहीबार र भोली शुक्रबार चरणबद्ध वार्ता हुने तयभएको छ । वार्तामा व्यापारिक कर विवाद, ताइवान, दुर्लभ खनिज पदार्थ, कृत्रिम बुद्धिमत्ता (एआई), सेमीकन्डक्टर प्रविधि तथा इरान युद्ध मुख्य एजेन्डा रहने जनाइएको छ । ट्रम्प हिजो बुधबार एयरफोर्स वनबाट बेइजिङमा ओर्लिनुभएको बीबीसीले जनाएको थियो । दुईदिने भ्रमणका लागि उहाँ चीन पुग्नुभएको हो ।
ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गर्नुभएको थियो । दुईदिने भ्रमणमा उहाँले भन्सार शुल्क, प्रविधि, इरान युद्ध तथा ताइवान मामिलाबारे छलफलगर्ने बताइएको छ । मध्यपूर्वमा अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानका कारण आलोचना र विवाद बढिरहेका बेला उहाँ चीन पुग्नुभएकाले विश्वमै आजको वार्तालाई महत्वका साथ हेरिएको छ । ट्रम्पको साथमा छोरा इरिक, व्यापारी एलन मस्क, टीम कुक, ल्यारी फिंक, केली अटवर्ग रहनुभएको थाहाभएको छ । बेइजिङ उड्नुअघि ट्रम्पले ट्रुथमा असाधारण क्षमताका नेताका रुपमा सीको प्रशंसा गर्नुभएको थियो । उहाँले क्षमतावान् सीको नेतृत्वमा जनवादी गणतन्त्र चीन अझै उच्च तहमा पुगोस् मेरो चाहाना छ भन्नुभएको थियो ।
ट्रम्पसँगै १७ जना अमेरिकी उद्योगपति पनि चीन पुगेका छन्। भ्रमणका क्रममा चीनले ५०० बोइङ ७३७ म्याक्स, १०० बोइङ ७८७ ड्रिमलाइनर र केही ७७७एक्स वाइडबडी विमान खरिदगर्न सक्ने चर्चा छ । ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि चीन पुग्नुभएको छ । रुबियोले उइघुर मुसलमान र हङकङ मुद्धामा चीनको आलोचनागर्दै आएका कारण बेइजिङले उहाँमाथि पहिलेनै प्रतिबन्ध लगाएको थियो । तर यस भ्रमणका लागि चीनले उहाँको नामको चिनियाँ ट्रान्सलिटरेसन परिवर्तनगरेर प्रतिबन्ध व्यवस्थालाई प्राविधिकरुपमा छल्ने उपाय अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ह्वाइट हाउसकाअनुसार राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा भव्य स्टेट डिनर आयोजनागर्ने कार्यक्रम छ ।
यस्तो कार्यक्रमलाई चीनमा उच्च कूटनीतिक सम्मानकारुपमा लिइन्छ । सामान्यतया ग्रेट हल अफ द पिपलमा आयोजना हुने यस्ता समारोहमा दुवै देशका उच्च अधिकारी, व्यवसायी र विशेष अतिथिको सहभागिता रहने गर्छ । कूटनीतिक विश्लेषकहरुले यसलाई अमेरिका–चीन सम्बन्धलाई रणनीतिक महत्व दिइएको संकेतकारुपमा व्याख्या गरेका छन् ।