काठमाडौं, २३ जेठ । बाँकेको नेपालगन्जमा रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन जारी छ । लुम्बिनी प्राविधिक विश्वबिद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हिजोबाट शुरु भएको हो । इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डा निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौवटा सत्र सञ्चालन हुनेछन् । विश्वबिद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो । विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रुपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो । नेपालगन्जलाई प्रविधिको केन्द्रको हबका रुपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पु¥याउने अपेक्षा राखिएको उपकुलपति ढकालको भनाइ छ ।