काठमाडौं, २३ जेठ । नेपाल र भारतबीचको सुपुर्दगी सन्धीमा हेरफेरको तयारी भैरहेको थाहा भएको छ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच हिजो भएको भेटवार्ता पछि उपरोक्त संकेत देखिएको हो । मन्त्री खनालले हिजो नयाँदिल्ली पुगेको केहीबेरमै सुरक्षा सल्लाहकार डोभालसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुवै देशको सुरक्षा सम्बन्ध अभिवृद्धिगर्ने विषयमा छलफल भएको जनाइएको छ ।

मन्त्री खनाल तीन दिने भारत भ्रमण पूरा गरी भोली २४ गते स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएको हो । डा एस जयशंकरसँग आज वार्ता हुँदैछ । उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो ।

मन्त्री खनाल हिजो दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुने भनिएको छ ।