काठमाडौं,२१ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको थाहाभएको छ । विभागले जबरासँग सम्पर्क एवं निकट रहेका दावी गरिएका नारायण दाहाल, दिपक तिमल्सिना, नविन बस्नेत लगायतको घरमा छापामारेर चोलेन्द्रको घरमा पुगेको बताइन्छ । जबरासँग जोडिएको आर्थिक लेनदेन र विभिन्न व्यक्तिसँगको सम्पर्कबारे अनुसन्धान भइरहेका बेला विभागले छापा हानेको बताइन्छ । विभागले दीपक तिमल्सिना, नवराज थपलिया र प्रभु शमशेर राणाको घरमा पनि छापा मारेको अनौपचारिक समाचार बाहिर आउको छ । प्रभु शमशेर चोलेन्द्रका भाइ हुनुहुन्छ ।
बर्खास्तीमा परेका उच्च अदालतका तत्कालीन न्यायाधीश थपलिया पनि चोलेन्द्रनिकट रहेको प्रचार गरिएको छ । जबरालाई यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिनापक्राउ पूर्जी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरीले उहाँको घरमा अस्वाभाविक भेटघाट तथा विवादित व्यक्तिहरुसँगको सम्पर्कबारे सूचना पाएपछि अनुसन्धान गरिएको जनाएको थियोे ।
जबरासँग सम्पर्कमा रहेका भनिएका इनाम सापकोटा र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको पनि प्रचार गरिएको छ । तर पछिल्ला घटनाबारे चोलेन्द्रले कुनै प्रतिक्रिया दिनुभएको छैन । सरकारले पनि उक्त गतिबिधि किन भैरहेको छ भन्ने सार्बजनिक जानकारी दिएको छैन ।