काठमाडौं,२३ असोज । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मा पार्टी परित्याग गर्नेक्रम जारीरहेको छ । हालैमात्र सो पार्टीका प्रभावशाली नेता गणेश ढकालले पार्टी परित्याग गर्नुभएको छ । केन्द्रीय सदस्य तथा उत्पादन विभाग प्रमुख रहनुभएका ढकालले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशको संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उहाँले प्रभावशाली नेता मानिन्छन् । पार्टीको उत्पादन नीतिसँग जोडेर उनले कैलालीको लम्कीचुहामा ड्रागन फ्रुट खेती पनि गर्नुभएको छ ।
पार्टी विभाजनताका कैलालीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँले जनयुद्धकालमा कौवापुर हत्याकाण्डपश्चात् बिभिन्न जिम्मेवारी लिनुभएको थियो । हरैया जग्गा काण्डमा पार्टीले प्रकाश मल्ललाई कारवाही गरेर गण्डकी प्रदेशमा पठाएपछि सुदूरपश्चिमको नेतृत्व सम्हाल्नुभएको थियो । चन्दका विश्वासपात्र मानिनुहुने उहाँले पछिल्लो समय पार्टी कार्यनीतिको आलोचनागर्दै आउनुभएको थियो ।