काठमाडौं,२३ असोज । संखुवासभामा स्क्रबटाइफसको संक्रमण बढ्दो अवस्थामा रहेको बताइएको छ । प्राप्त समाचारअनुसार हालसम्म स्क्रब टाइफस संक्रमितको संख्या ५६० पुगेको सरकारी तथ्यांक छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले गत साउन यता स्क्रब टाइफसका संक्रमित ५६० जना बिरामी भेटिएको जानकारी दिनुभएको हो । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा कामगर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस संक्रमित बढेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये संखुवासभामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । संखुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभएको छ ।

उहाँका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्चजोखिममा परेको सूचना अधिकारी श्रेष्ठको भनाई छ । सो जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टिभएको उहाँले जानकारी दिनुभएको छ । जिल्ला अस्पतालमा आर्थिक वर्ष ०८०-८१ मा ५४८, आव ०८१-८२ मा ३४१ र आव ०८२-८३ मा ४६७ जना स्क्रब टाइफसका संक्रमित भेटिएका थिए । चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो संख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका संक्रमितभन्दा बढी रहेको बताउनुभएको छ ।

सो जिल्लामा हालसम्म स्क्रब टाइफस संक्रमणका कारण बिरामीको मृत्युभने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रमित बढ्दैगएपछि नियमित रुपमा अद्यावधिकगर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभएको छ ।