काठमाडौं, २ भदौ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसदमा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएपछि प्रतिपक्षी दलहरुले बिभिन्न प्रश्न उठाउन थालेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोधगर्दै आउनुभएको थियो । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गर्नुभएको छ ।
सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली–०८३ को नियम ५६ अनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एकदिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछभन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउनु भएको थियो । यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको खुला सीमा बन्द गरेर भिसा सिष्टममा जानुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको हिजोको बैठकमा बोल्दै उहाँले नेपाल–भारतबीच पनि भिसा सिष्टम चलाउनुपर्ने बताउनुभएको हो । उहाँले भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन । भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन् भन्नुभएको थियो । नेपाल र भारतको जस्तो खुलासीमा अन्य कुनै पनि देशमा नरहेको उहाँको भनाइ छ । सीमा खुलाहुँदा मानव बेचविखनसहित आपराधिक गतिविधि बढेको साम्पाङले बताउँदै आउनु भएको छ ।