काठमाडौं, २ भदौ । राष्ट्रिय जनमोर्चाको जिल्ला समिति दाङ–देउखुरीले एलपी ग्यासको अभाव तथा किसानले समयमा मल नपाएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय दाङमा हिजो ज्ञापनपत्र बुझाएको थाहाभएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रशासन दाङमा बुझाइएको ज्ञापनपत्रमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको अभावका कारण सर्वसाधारणमा समस्या बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ग्यासको अभावका कारण कतिपयले ठूलो संख्यामा ग्यास जम्मा गरेको र कतिपयले बिहानैदेखि लाइनमा बस्दा पनि ग्यास प्राप्तगर्न नसकेको गुनासो सामाजिक सञ्जालमार्फत आइरहेको जनमोर्चाले जनाएको छ ।

विशेषगरी बाहिरबाट आएर घरभाडामा बस्ने विद्यार्थी, कर्मचारी तथा मजदुरहरु ग्यासका लागि लामो समय लाइनमा बस्नुपरेको र पालो आउँदा पनि सहजरुपमा ग्यास नपाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । स्थानीय नागरिकले वैकल्पिक रुपमा दाउरा प्रयोगगर्न सक्ने भएपनि घरभाडामा कोठा लिएर बस्नेहरुलाई त्यस्तो सुविधा नहुनेभन्दै उनीहरुमाथि विभेदगर्न नहुने जनमोर्चाले जनाएको छ । सरकार तथा स्थानीय अधिकारीहरुले सहज आपूर्तिको आश्वासनदिँदै आए पनि समस्या समाधान नभएकोभन्दै पार्टीले सबै नागरिकलाई समान रुपमा सहज र सुलभ ढंगले ग्यास उपलब्ध हुने वातावरण बनाउन माग गरेको छ ।

अन्यथा जनताको अधिकारका लागि सडक संघर्षगर्न बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ । त्यसैगरी किसानले धान रोपेर सक्दासमेत समयमा मल पाउन नसकेको जनमोर्चाले जनाएको छ । दोस्रो पटक मल हाल्ने समयसम्म पनि किसानहरु मलको अभावमा रहेकोभन्दै समयमा मलको व्यवस्था नभए वर्षभरि खाने अन्न उत्पादनमासमेत असरपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।