काठमाडौं, २ भदौ । नेपालको सडक कालोपत्रगर्न पनि भारतीय पक्षले अवरोधगर्न थालेको छ । प्राप्त समाचारअनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ डोकेबजार–दैजी हुलाकी सडक खण्डको पचुँइ गाउँमा एक हजार ४०० मिटर सडकमा भारतीय सीमा सुरक्षा बलका अधिकारीले ग्राइभेल हाल्न अवरोधगर्न थालेपछि स्थानीय आक्रोशित भएका छन् । ०७३ फागुनमा डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक कालोपत्रगर्न तीनवटा प्याकेजमा ठेक्का दिइएको थियो । बीचको दोस्रो प्याकेजमा पर्ने बेलौरी–बेल्डाँडी खण्डको पचुँइमा भारतीय सुरक्षाकर्मीले उक्त खण्ड नेपाल–भारत सीमाना दशगजामा पर्नेभन्दै निर्माणमा अवरोध गर्दैआएका छन् । स्थानीय सुतिया खोलालाई लामो समयदेखि सीमा मान्दै आएको अवस्था छ ।

भारतीय पक्षले हुलाकी सडक निर्माण शुरु भएयता सडक दशगजामा पर्ने दाबीसहित निर्माणमा अवरोध गरिरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभएको छ । उहाँले निर्माण व्यवसायीले लापरवाही गरेपछि दोस्रो प्याकेज पुनः टेण्डरगर्ने तयारीमा छौँ । सोही खण्डमा भारतले दशगजालगायतमा सीमा विवादगर्दा पचुँइ क्षेत्रमा एक हजार ४०० मिटर खण्ड कालोपत्रगर्न सकिएको छैन । अब त्यो भाग छोडेर काम अघिबढाउने योजना रहेको बताउनु भएको छ ।

सो क्षेत्रमा विवाद बढेपछि स्थानी तहदेखि स्थानीय प्रशासनसम्मले सुल्झाउन प्रयास गर्दैआएका छन् । तर अझै निश्र्कषमा पुग्न नसकिएको प्रमुख लामिछानेले बताउनुभएको छ । हुलाकी सडकअन्र्तगत पहिलो र तेस्रो प्याकेज निर्माण भइसके पनि दोस्रो प्याकेज नौवर्ष बितिसक्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाई छ ।