काठमाडौं, २ भदौ । संयुक्त राष्टसंघको मानवअधिकार संगठनले यमनमा पूर्ण युद्धमा फर्कने जोखिम बढिरहेको जनाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका समाचार बिवरणहरु अनुसार यमनमा बढ्दो शत्रुताका कारण नागरिकको मृत्यु बढेकोप्रति चिन्ता व्यक्तगर्दै संयुक्त राष्ट्रसंघ मानव अधिकार प्रमुख भोल्कर तुर्कले उक्त देशलाई पुनः पूर्ण युद्धमा धकेल्नबाट जोगाउन प्रयासगर्न आग्रह गर्नुभएको छ । एक दशकभन्दा बढी गृहयुद्धमा फसेको यमन गत महिना मध्यपूर्व युद्धमा तानिएको थियो । इरान समर्थित हूथीहरुले साउदी समर्थित सरकारसँगको सन् २०२२ को युद्धविराम तोडेर उनीहरुको नियन्त्रणका क्षेत्रमा आक्रमण बढाएका छन् ।
पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा युद्ध फर्कने आशंका बढाएको जानकारहरुको भनाई छ । टर्कले म सबै पक्षलाई तनाव कमगर्न र यमनी जनतालाई थप दुःखबाट जोगाउन आह्वान गर्दछु । यमनी जनताले वर्षौँको द्वन्द, विस्थापन र मानवीय संकटको विनाशकारी विरासतबाट पहिले नै धेरै पीडा भोगिसकेका छन् भन्नुभएको छ । उहाँले म सबै पक्षलाई यमनलाई पूर्ण युद्धमा फर्काउने जोखिमपूर्ण कुनै पनि कार्य तुरुन्त रोक्न आग्रह गर्दछु भन्नुभएको छ ।
यस महिनाको शुरुमा विद्रोहीहरुले वर्षौंमा सबैभन्दा घातक आक्रमण गरेका थिए । जसमा मुख्यतया तेलयुक्त मारीब प्रान्तमा ५८ सरकारी सैनिक मारिएका थिए । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार अगष्ट ६ देखि सरकार नियन्त्रित क्षेत्रमा हूथी आक्रमणमा कम्तीमा सात नागरिक मारिएका र १० घाइते भएका छन्भने जुलाईको अन्त्यमा हूथी नियन्त्रित क्षेत्रमा दुई नागरिक घाइते भएको बताइएको छ ।