काठमाडौं, २ भदौ । सुनसरीको कप्तानगञ्ज घटना बल्झिने संकेत देखिएको छ । यसैक्रममा हिन्दु मोर्चा सुनसरीले सो जिल्लाको देवानगञ्ज – ३ कप्तानगञ्जमा भएको हिसांत्मक घटनापछि पक्राउपरेका आन्दोलनकारीलाई तत्काल रिहागर्न माग गरेको छ । मोर्चाका संयोजक कल्याण यादवले जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बुझाएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिनगरी दोषीमाथि कानूनबमोजिम कारवाहीगर्न मागगरिएको छ । ज्ञापनपत्रमा कप्तानगञ्जसँगै सुनसरीका बिभिन्न स्थानमा हिन्दू समुदायमाथि भएको भनिएका हिंसात्मक घटना, आगजनी, कुटपिट, तोडफोडलगायतका विषयमा निष्पक्ष छानबिनगर्न पनि माग गरिएको छ ।
धार्मिकस्थल, मन्दिर, घर तथा पसलमा भएको भनिएको क्षति र आक्रमणमा संलग्नलाई कानूनी कारवाहीगर्न पनि मोर्चाले माग गरेको छ । मोर्चाले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, धम्की दिने तथा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने गतिविधिमा संलग्न व्यक्तिको पहिचानगरी प्रचलित कानूनअनुसार कारवाही गर्नुपर्ने दाबि गरेको छ । त्यसैगरी, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई आरोप, प्रमाण तथा कानूनी आधारबिना पक्राउ नगर्न र पक्राउ परेकामध्ये निर्दोषलाई तत्काल रिहागर्न माग पनि गरिएको छ । कुनै व्यक्तिमाथि अभियोग कायम गर्नुपर्ने अवस्था भए पारदर्शी र न्यायोचित कानूनी प्रक्रियाबाट अघि बढाउन मोर्चाले आग्रह गरेको छ । ज्ञापनपत्रमा हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक आस्था, संस्कार, परम्परा, रीतिरिवाज र सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्मान हुने वातावरण बनाउनसमेत प्रशासनसँग माग गरिएको छ ।
चाडपर्वका समयमा भय र त्रासरहित वातावरण सुनिश्चितगर्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने मोर्चाको भनाइ छ । सुनसरीमा साम्प्रदायिक सद्भाव, सामाजिक शान्ति र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि हिन्दू धर्मावलम्बीमाथि व्यक्तिगत वा सामूहिक दोषारोपण तथा प्रतिशोधको वातावरण सिर्जना हुन नदिन मोर्चाले आग्रहगरेको छ । मोर्चाले भोक्राहा नरसिंहको चिरौली चोकमा हिन्दूसमूदायका पसलमा भएको भनिएको आगजनी तथा त्यहाँका जनप्रतिनिधिबाट हिन्दूहरुलाई पलायनगर्न र व्यापार,व्यवसायगर्न नदिने अभिव्यक्ति आएको विषयमा समेत छानबिनगर्न माग गरेको छ ।