
काठमाडौं, २ भदौ । सरकारले दुर्गा प्रशाइँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्तागर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको थाहाभएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले दिनुभएको जानकारीअनुसार महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा बिभिन्न माग पेशगरेको थियो ।
सोही मागका सम्बन्धमा वार्तागरी समस्या समाधानका लागि सहजीकरणगर्न वार्ता टोली गठन गरिएको प्रवक्ता अर्यालको भनाई छ । सरकारी वार्ता टोलीका सदस्यहरुमा गृहमन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थमन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी हुनुहुन्छ । हिजो दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानको मागका विषयमा सम्बद्ध पक्षसँग छलफल भएको थियो ।
महाअभियानको मागबमोजिम सरकारको तर्फबाट औपचारिरुपमा वार्ता टोली गठनगरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वानगर्ने सहमति भएको थियो । सरकारले गरेको आह्वानलाई सम्मानगर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि प्राप्त भएको पत्रसमेत ग्रहण गरेका थिए ।