काठमाडौं,१५ भदौ । एमालेद्वारा बाढी प्रभावित क्षेत्रमा तत्काल कामगर्न सरकारलाई ८ बुँधे सुझाव प्रस्तुत गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि तयार गरेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बुझाउँदै सरकारलाई उक्त सुझाव दिएको हो । एमालेले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिसहितको एकीकृत कमान्ड पोष्ट तत्काल गठनगर्न माग गरेको छ । मुख्य सडक सञ्चालनमा आउन समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा तुइन, फलामे डोरी र अस्थायी पुललगायत वैकल्पिक माध्यमबाट खाद्यान्न, औषधि र खानेपानी पु¥याउनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, सडक खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टसमेत परिचालनगरी युद्धस्तरमा काम गर्न र नदी तथा ठूला खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । रसुवा जोड्ने वैकल्पिक सडकहरु तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पनि सुझाव दिइएको छ । टोखा–शिवपुरी–लिखु–तादी–सूर्यगढीहुँदै धुन्चे जाने सडक तथा धादिङबाट मध्यपहाडी राजमार्ग हुँदै किस्पाङ–तारकेश्वर भएर रसुवा जोडिने सडकलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने एमालेको भनाइ रहेको छ । बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि थप जनशक्ति र आधुनिक उपकरण परिचालनगर्न पनि एमालेले मागगरेको छ ।

डुबान तथा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीगर्नुका साथै जलबिद्युत आयोजनाका सुरुङमा फसेका स्वदेशी तथा विदेशी कामदारको शीघ्र उद्धार गर्नुपर्ने सुझाव दिइएको छ। राहत तथा उद्धार कार्यमा सुरक्षा निकायसँगै नागरिक स्वयंसेवकलाई पनि तत्काल परिचालनगर्न एमालेले आग्रह गरेको छ ।