काठमाडौं,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का अध्यक्ष धर्मेन्द्र बास्तोलाले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन स्थगित गर्नुभएको छ । रसुवामा आएको बाढी, पहिरो, प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भइरहेको बेला सो पार्टीले सम्मेलन स्थगितगरी नेता तथा कार्यकर्तालाई विपद् प्रभावित जनताको उद्धार, राहत र सेवामा जुट्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष बास्तोलाद्वारा जारी प्रेस वक्तव्यमा पछिल्लो समय आएको प्राकृतिक प्रकोप बाट ठुलो संख्यामा जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा आगामी दिनमा खाद्यान्न, लत्ताकपडा तथा औषधिको अभाव हुनसक्ने र उद्धार गरिएका व्यक्तिलाई घर फर्काउन समेत समस्या हुनसक्ने भएकोले पार्टीले विपत्तिको समयमा आफ्ना सबै समिति र नेता कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएको छ ।

त्यसैगरी आम जनताबाट राहत संकलनगरी विभिन्न आधिकारिक सस्संस्था, निकाय तथा जनतासँग समन्वय गरेर प्रभावित नागरिकसम्म पु¥याउन पहलगर्न भनिएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा रहेका बिद्यार्थी, युवा, मजदुर, महिला लगायतका जनवर्गीय संगठनहरुलाई पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उपचार सहयोग तथा रक्तदान कार्यक्रम सञ्चालनगर्न निर्देशन दिइएको छ । पार्टीले राष्ट्रिय सम्मेलन स्थगित भए पनि नयाँ मिति तयगर्न केन्द्रीय समितिको बैठकबाट उपयुक्त समय निर्धारण गरिने जनाएको छ ।