
काठमाडौं,१५ भदौ । छिमेकी चीनले नेपाललाई २० लाख अमेरिकी डलर सहयोगगर्ने भएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको हो । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग हिजो भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गर्नुभएको काठमाडौस्थित चिनियाँ दूतावासले जनाएको छ ।
उहाँले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुईलाख अमेरिकी डलरसमेत हस्तान्तरण गर्नुभएको थियो । राजदूत माओमिङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामनागर्नु रहेको बताउनुभएको छ । नगद सहायता प्रदानगर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत माओमिङले बताउनुभएको छ ।
चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । सो अवसरमा मन्त्री डा वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्तगर्दै कठीन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गर्नुभएको थियो ।