काठमाडौं,१५ भदौ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेको थाहा भएको छ । आफ्नो मागदाबीअनुसार सर्वोच्च अदालतबाट आदेश नआएसँगै देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी थालेको हो । देउवा र नेता पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न मागगर्दै यही भदौ २ गते सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दिनुभएको थियो । उक्त निवेदन भदौ ३ गते दर्ता भएको थियो । दुवै पूरक निवेदनमाथि भदौ ११ गते पेशी तोकिएको थियो । सोही दिन सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगविरुद्ध देउवा र खड्काले दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको थियो ।

न्यायाधीशहरु नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले उक्त आदेश दिएको थियो । यसअघि गत वैशाख ४ गते रिट खारेज गर्नेगरी भएको निर्णयमा सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला संलग्न संयुक्त इजलासले निवेदक देउवा, खड्का तथा विपक्षीहरुलाई कुनै काम कारबाही वा निर्णयगर्न आदेश वा निर्देश गरेको अवस्था नदेखिएकाले अन्तरकालीन आदेश दिनुनपर्ने निष्कर्ष निकालेको थियो ।

सर्वोच्चले गगन कांग्रेसको महाधिवेशन नरोकिनेगरी आदेश दिएसँगै देउवा पक्षले समानान्तर महाधिवेशन अघिबढाउने भएको हो । देउवा पक्षका नेता एनपी साउदले महाधिवेशन लक्षित संगठात्मक तयारी अघि बढाइसकेको बताउनु भएको छ । नेता साउदका अनुसार जिल्ला र निर्वाचन क्षेत्रमा संयोजक तोक्ने तथा क्रियाशील सदस्यतासम्बन्धी कामलाई प्राथमिकतामा राखिएको छ । देउवा पक्षले असोजको अन्तिम सातातिर १५ औँ महाधिवेशनगर्न तयारीकासाथ काम अघिबढाएको नेता साउदले बताउनुभएको छ ।