
काठमाडौं,८ भदौ । एमाले का अध्यक्ष केपी ओलीले पार्टीमा महासंकटको अवस्था नआएसम्म पुनरगठन नहुने बताउनु भएको छ । उहाँले यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने रहेको समेत बताउनु भएको छ । मोरङको विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई भर्चुअल सम्बोधनगर्दै अध्यक्ष ओलीले प्रतिगमनविरुद्धको आन्दोलनका लागि पहिले आफूलाई वैचारिक, सांगठनिक सबै हिसावले तयारगर्ने र यस आन्दोलनमा सँगै हिँड्न सक्नेलाईसाथै लिएर हिड्नुपर्ने अहिलेको परिस्थिति रहेको बताउनुभएको थियो ।
उहाँले वर्तमान सरकार हरेक क्षेत्रमा डर, त्रास र भयको वातावरण सिर्जनागरी स्वेच्छाचारी ढंगले चलिरहेको र फासीवादतर्फ उन्मुख रहेको बताउँदै जनताले दिएको बहुमत देशमा आतंक सिर्जनागर्न नभई राम्रोसँग देश चलाउन दिएको लाइसेन्स भएको धारणा राख्नुभएको थियो । उहाँले प्रतिगमनलाई परास्तगरी स्थानीय तहको निर्वाचनमा सफलता हाशिलगर्न पार्टीलाई एकताबद्ध रुपमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले हामीले आफूभित्रका कमी कमजोरीलाई सच्याउनु जरुरी छ ।
पार्टी नबदल्ने, भोट बदल्ने ! त्योभन्दा लज्जाजनक कुरा के हुन्छ ? भन्ने प्रश्न पनि गर्नुभएको थियो । अध्यक्ष ओलीले सामाजिक सञ्जाल लगायतका साधनस्रोतलाई पार्टीको हितमा अर्थपूर्ण ढंगले प्रयोग गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै निराशा र हतोत्साह त्यागेर उच्च मनोबलकासाथ पार्टी काममा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।