काटमाडौं, ८ भदौ । राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको घरबाट बरामद भएका सामान २४ घण्टाभित्र सर्वोच्च अदालतमा पेशगर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश भएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण मागगर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश दिएको हो । प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइगर्दै अदालतले आधार र कारण खुलाएर २४ घण्टाभित्र लिखित जवाफ पेशगर्न भनेको छ ।

अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरु समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ । आदेशमा यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद पठाई म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुहोला भनिएको छ ।