काठमाडौं,८ भदौ । नेकपा (मसाल) का महामन्त्रि मोहनबिक्रम सिंहले बर्तमान ब्यवस्थाको बिकल्प खोज्न जरुरी रहेको र ब्यवस्थाको परिवर्तन संसभ पनि रहेको बताउनु भएको छ । रुपन्देहीको बुटवलमा हालै सम्पन्न कम्युनिष्ट संग्राहलयको चौथो भेलालाई सम्बोधनका क्रममा महामन्त्री सिंहले उपरोक्त धारणा राख्नुभएको हो । त्यसक्रममा उहाँले अहिलेको परिस्थितिलाई स्थिर र अन्तिम अवस्थाकारुपमा बुझ्नु गलत हुने बताउनु भएको थियो । महामन्त्री सिंहले राजनीतिक शक्तिहरुले तत्काल देखिएको अवस्थामै सीमित भएर निष्कर्ष निकाल्न नहुने भन्दै दीर्घकालीन राजनीतिक दिशा, जनताको चाहना र बदलिँदो परिस्थितिलाई गम्भीररुपमा अध्ययन गर्नुपर्ने बताउनु भएको थियो ।
नेता सिंहले देशमा देखिएका राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँका भनाइमा जनतामा निराशा बढ्दैजाँदा त्यसले विद्यमान राजनीतिक शक्तिहरुप्रति प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ । उहाँले कुनैपनि राजनीतिक परिस्थिति स्थायी नहुने उल्लेखगर्दै अहिले जे अवस्था छ, त्यही अवस्था सधैँ रहन्छ भन्ने छैन पनि भन्नुभएको थियो । महामन्त्री सिंहले वर्तमान अवस्थालाई गम्भीरतापूर्वक विश्लेषणगर्दै राजनीतिक शक्तिहरुले आफ्ना नीति तथा कार्यक्रमलाई जनताको वास्तविक समस्यासँग जोड्नुपर्ने बताउनु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल यतिबेला गम्भीर राजनीतिक तथा राष्ट्रिय संकटको अवस्थामा रहेको बताउनु भएको थियो । उहाँले बाह्य शक्तिको हस्तक्षेप र नेपालको प्राकृतिक श्रोतसाधनमाथिको विदेशी प्रभाव बढ्दैगएको दाबि पनि गर्नुभयो ।
अध्यक्ष केसीले साम्राज्यवादका विरुद्ध राजनीतिक दलहरुबीच कार्यगत एकता आवश्यक छ । नेपाललाई विदेशी शक्तिले आफ्नो रणनीतिक स्वार्थअनुकूल प्रयोगगर्न सक्ने खतरा रहेको बताउनु भएको थियो । उहाँले नेपाललाई अर्को सिक्किम बन्न नदिन राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष केसीले अमेरिकी साम्राज्यवादले विश्वका बिभिन्न मुलुकका प्राकृतिक श्रोतसाधनमाथि आफ्नो प्रभाव विस्तार गरिरहेको दाबीगर्दै नेपालका जलश्रोतलगायत प्राकृतिक सम्पदामाथि पनि विदेशी शक्तिको चासो बढेको बताउनु भयो ।
उहाँकाअनुसार नेपालको श्रोतसाधनलाई बाह्य शक्तिले आफ्नो भूराजनीतिक स्वार्थमा प्रयोगगर्ने अवस्था सिर्जना भए त्यसले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्छ । केसीले नेपालको आन्तरिक राजनीतिक कमजोरीले पनि बाह्य हस्तक्षेपका लागि अनुकूल वातावरण बन्नसक्ने चेतावनी समेत दिनु भएको थियो । राजनीतिक दलहरुबीचको विवाद, कमजोरी र विभाजनले साम्राज्यवादी शक्तिलाई नेपालमा खेल्ने अवसर प्रदानगर्ने उहाँको भनाइ थियो ।