
काठमाडौं,८ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मा नेता तथा कार्यकर्ताहरुले बिद्रोह गर्नेक्रम जारी छभने सबैले नेतृत्वको बिरोध गरेका छन् । यसैक्रममा प्राप्त एक समाचारअनुसार सो पार्टीकी सचिवालय सदस्य उमा भुजेलमाथि भएको कारवाहीपछि चर्किएको आन्तरिक किचलोकाबीच केन्द्रीय प्रतिनिधि सदस्य लालबहादुर वलीको नेतृत्वमा रोल्पा जिलाका १३ जना नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेका छन् । पार्टीमा फरकमत राख्नेहरुलाई नेतृत्वले देखिनसहेको उनीहरुको आरोप छ ।
पार्टी छोड्नेहरुमा केन्द्रीय नेता वलीसहित जिल्ला कमिटी सचिवालय सदस्य नन्द वली, महेन्द्र वली, जिल्ला सदस्य पूर्ण बहादुर वली र धनबहादुर केसी छन् । त्यसैगरी स्थानीय कमिटीका तिलक महर, मनवीर घर्ती मगर, लोकेन्द्र डाँगी, रुद्र केसी, हिरालाल वली, कमला वली, निर्मला वली र लेखनाथ डिसी रहेका छन् । पहिलो पटक आमचुनावमा सहभागीभई देशभरबाट २३ हजार मत ल्याएको माओवादीमा पछिल्लो समय महासचिव चन्दको नेतृत्व क्षमतामाथि नै प्रश्न उठिरहेको छ । हरेक पटक पार्टी छोड्नेहरुले हालको नेतृत्वबाट क्रान्ति सम्पन्न नहुने ठोकुवा गरेका छन् ।
उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा कम्युनिष्ट एकता र पुनर्गठनको आवश्यकतामाथि जोड दिइएको छ । जेनजी आन्दोलनपछि परिस्थिति जटिल बन्दैगएको र साम्राज्यवादले आफ्नो बर्चस्व कायमगर्न नवदलालहरुलाई अगाडि ल्याएको उल्लेखगर्दै वक्तव्यमा राष्ट्रियता जोगाउन क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य रहने जनाइएको छ ।