काठमाडौं,६ मंसिर । नेपालको कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रुपान्तरण गर्नुपर्ने आबश्यकता रहेको कम्युनिष्ट नेताहरुले नै खुलाशा गर्नुभएको छ । माक्र्सवादी ज्ञान केन्द्रले आफ्नो छैठौँ वार्षिक साधारणसभाका अवसरमा चितवनको भरतपुरमा आयोजना गरेको कम्युनिष्ट आन्दोलन रुपान्तरणको मार्गचित्र विषयक अन्तरक्रियामा सहभागी वक्ताले उपरोक्त धारणा राख्नुभएको हो । त्यसक्रममा नेकपाका संगठन विभाग प्रमुख वर्षमान पुनले विश्व पूँजीवाद, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको थियो । उहाँले जनताका दैनिक समस्या सम्बोधनगर्दै उनीहरुसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवादको मूलमर्म समाज परिवर्तन र रुपान्तरण भएकाले बदलिँदो समाजअनुसार विचार र विश्लेषणलाई विकसित गर्नुपर्ने बताउनुभएको थियो । एआईलगायत नयाँ प्रविधिले समाजलाई थपजटिल बनाउँदै लगेकाले वर्गीय विश्लेषणमा समेत नयाँ दृष्टिकोण आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष मनहरी तिमिल्सिनाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि रमाकान्त सापकोटा, करुणा पराजुली र वसन्त श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । महासचिव दृश्यान्त भट्टराईले सांगठनिक तथा कोषाध्यक्ष त्रिविक्रम ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा केन्द्रद्वारा प्रकाशित एआई ः वर्तमान र भविष्य’ पुस्तक लोकार्पण समेत गरिएको थियो ।