काठमाडौं,६ मंसिर । भारतको नयाँ दिल्लीका आज साँझ भारत भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताकाक्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको दिल्लीमा रहेका समाचारदाताहरुले जनाएका छन् । उक्त भेटकाक्रममा उहाँहरुका बीचमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमासमेत कुराकानी भएको बुझिएको छ । प्रम वालेन्द्रको भ्रमणकाक्रममा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी रहनुभएको छ ।
आजै साँझ नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रम तयगरिएको थाहा भएको छ । भोली सोमबार बिहान प्रधानमन्त्री वालेन्द्रले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय तथा एकान्त वार्ता गर्नुहुने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयकाअनुसार मोदीसँगको वार्ताकाक्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकाससँगै नयाँ क्षेत्रका सहकार्य तथा संयुक्त भिजन डकुमेन्टमा समेत छलफल हुने तयारी छ ।
भ्रमणकै क्रममा ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । जसको शिलालेख नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत अनावरण गरिने र संखुवासभास्थित आयोजनास्थलमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।