काठमाडौं, ७ मंसिर । बर्तमान सरकार एकदलीय सर्वसत्तावाद तिर गएको दाबिगर्दै पुराना दलहरु आन्दोलित भएका छन् । यसैक्रममा नेपाली कांग्रेसका नेता देवराज चालिसेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि साझा राष्ट्रिय धारणा बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण देशको प्रतिनिधित्वगर्ने राजकीय भ्रमण भए पनि त्यस्तो भ्रमणमा जानुअघि राजनीतिक दलहरुबीच साझा राष्ट्रिय धारणा बनाउने प्रचलन रहेको तर यसपटक त्यस्तो प्रयास नदेखिएको बताउनु भएको छ । चालिसेले वर्तमान सरकार बहुदलीय संसदीय निर्वाचन प्रणालीबाट निर्वाचित भएपनि यसको चरित्र र व्यवहारमा एकदलीय सर्वसत्तावाद देखिएको टिप्पणी गर्नुभएको छ ।

बहुमत प्राप्तगर्नु राज्यका सबै संस्थामाथि एकाधिकार जमाउने अधिकार नभएको उल्लेखगर्दै उहाँले सरकार के चाहन्छ ? प्रतिपक्षविहीन राजनीति, प्रश्नविहीन शासन कि आफ्नै निर्णयलाई राष्ट्रिय सहमति ठान्ने राजनीतिक अहंकार ? भन्ने प्रश्न पनि गर्नुभएको छ । निर्वाचनले सरकारलाई सत्ता सञ्चालनगर्ने अधिकार दिएको तर निरंकुश बन्ने छुट नदिएको उहाँको भनाई छ । आन्तरिक राजनीतिमा दलहरुबीच मतभेद हुनु स्वाभाविक भएपनि राष्ट्रहित र छिमेकी मुलुकसँगको सम्बन्धका विषयमा साझा धारणा आवश्यक रहेको चालिसेको भनाइ छ । सीमा, व्यापार, पारवहन, ऊर्जा, सुरक्षा, जलस्रोत र सार्वभौमिकतासँग जोडिएका विषय कुनै एक दल वा व्यक्तिको निजी विषय हुन नसक्ने उहाँले बताउनु भएको छ ।

त्यस्ता विषयमा हुने सन्धि तथा सम्झौताको प्रभाव लामो समयसम्म रहने भएकाले राष्ट्रिय एकीकृत आवाज आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । विगतमा पनि केही दलले छिमेकी मुलुकसँगको सम्बन्धलाई आफ्नो दलको निजी विषय बनाउँदै विवादमा ल्याउन खोजेकोभन्दै उहाँले त्यसको असर देशले भोगिसकेको बताउनुभएको छ । नेता चालिसेले अन्तर्राष्ट्रिय कूटनीति र घरेलु राजनीतिबीच सन्तुलन कायमगर्न वर्तमान सरकार अपरिपक्व देखिएको टिप्पणीसमेत गर्नुभएको छ ।