काठमाडौं, ७ मंसिर । दुग्ध उत्पादक किसानहरु असन्तुष्ट भएका छन्भने बिभिन्न मागहरु सार्बजनिक गरेका छन् ।
हिजो आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पु¥याउनुपर्ने माग गर्नुभएको थियो । उहाँका अनुसार दाना, चोकरलगायत पशुआहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ । विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि भएको छैन । बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको संघको भनाइ रहेको छ । महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताउनु भएको थियो ।
दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठीन भएको उहाँको भनाई थियो । संघकाअनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदैआएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिदगर्दै आएको छ । कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध संकलनगर्दै आएका छन् । सो जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध संकलन केन्द्रमार्फत किसानले दूध बिक्रीगर्दै आएका छन् । किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । संघले मंसिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मंसिर १६ गतेदेखि आन्दोलनगर्ने चेतावनी दिएको छ । माग सम्बोधन् नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजामगर्ने र उत्पादित दूध बजारमा नपठाइ भण्डारणगर्ने अध्यक्ष कटुवालले बताउनु भएको छ । सरकारले पटकपटक दूधको मूल्य वृद्धिगर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको संघको आरोप छ ।